पोखरा, २३ असोज शुक्रबार विहान स्कूल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा ५ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
मृ त्यु हुनेमा १५ वर्षीया ममता तिवारी, करिब १४ वर्षीय अशिम कँडेल, १५ बर्षकी सुबेच्छा तिवारी र बसमा सवार पोखरा–२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् । करिब १५ बर्षीया एक जना बालिकाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि १५ जना घाईतेहरुमा गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरू सृष्टि तिवारी , शिसन थापा मगर र सौगात तिमिल्सिना रहेका छन् । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घाइतेहरू अस्मी कंडेल, स्नेहा खत्री , सोनिया तिवारी ,अङ्कित पराजुली , स्मृती खत्री, स्नेहा तिवारी ,आकृती बुढाथोकी ,मेरिना तिवारी ,सुप्रिया आचार्य ,यमन मगर र बस चालक तुल बहादुर गुरुङ रहेका छन् । उद्धार कार्यमा खटिएका इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत ३१ वर्षीय प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको थप विवरण र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।