पोखरा । मानवसेवा आश्रम कास्की (हेम्जा) शाखाले निर्माणाधीन भवन सम्पन्नता तथा सेवा विस्तारका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ २०८३” आयोजना गर्ने भएको छ । आश्रमले बुधबार आयेजित पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार महायज्ञको मुख्य उद्देश्य निर्माणाधीन भवन पूरा गर्नु, लक्ष्मीनारायण मन्दिर र मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्नु तथा अक्षयकोष वृद्धि गरी दीगो सेवा सञ्चालन सुनिश्चित गर्नु रहेको छ । २०६९ सालमा हेटौंडाबाट सुरु भएको आश्रम हाल देशभर २९ सेवा केन्द्रमार्फत करिब २ हजार सहयोगापेक्षी मानवहरूको संरक्षणमा सक्रिय छ। कास्की शाखामा मात्र हाल २७५ जना आश्रित रहेका छन्, जसका लागि मासिक करिब ४०लाख रुपैयाँ खर्च हुने गरेको आश्रमले जनाएको छ । हेम्जास्थित भवन निर्माणमा हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र कार्य सम्पन्न गर्न थप २ करोड आवश्यक रहेको बताइएको छ । बढ्दो उद्धार कार्य र आश्रितहरूको सङ्ख्या वृद्धिसँगै सेवा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले अक्षयकोषलाई प्राथमिकतामा राखिएको जनाइएको छ। महायज्ञ अवधिभर धार्मिक प्रवचन, योग शिविर, निःशुल्क स्वास्थ्य सेवा, युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम तथा राष्ट्रिय–स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति लगायत कार्यक्रमहरू सञ्चालन गरिनेछन्। महायज्ञ सफल बनाउन १००१ सदस्यीय समिति गठन गरिएको छ । संयोजकमा अनिलकुमार साई तथा सहसंयोजकमा धर्मराज बास्तोला रहेका छन् । आश्रमले यसअघि २०७९ सालमा महायज्ञ आयोजना गरी भवन निर्माण कार्य सुरु गरेको थियो। यसपटकको महायज्ञलाई निर्माण सम्पन्न गर्ने महत्वपूर्ण अभियानका रूपमा लिइएको छ। मानवसेवा आश्रमले सम्पूर्ण मानवताप्रेमी, दाताहरू तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई सहयोग गर्न अपिल गरेको छ ।